किमोनो गर्ल

नमस्कार ! आउनुस्, बस्नुस् ।
म तपाईंलाई  नै पर्खिरहेको थिएँ । सामुन्ने बस्नुस् । फेस–टु–फेस बस्दा अति उत्तम ! आँखामा आँखा मिलाएर बात मार्न सकिन्छ । यसो गर्दा हाम्रो बातचितको पनि सम्मान हुन्छ, होइन त ? मुहारमा नहेरी कुरा गर्ने मान्छेहरू मलाई उत्ति साह्रो मन पर्दैन । त्यस्ता मान्छे निकै असभ्य, अविश्वसनीय एवं घृणाका लायक हुन्छन् । 
कुराकानी गर्दा दोस्रो व्यक्तिको आँखामा बदलिइरहने भाव देख्दा मलाई भसक्कै आनन्द लाग्छ । अलि सजिलोसित, आरामपूर्वक बस्नुस् । फिल योरसेल्फ कम्फर्टेबल । अनि हातमा चाहिँ त्यो के बोक्नु भा’को नि ! 

ए, अच्छा अच्छा ! रेनकोट पो ! बाई द वे, तपाईंले रितुपर्णो घोषको– रेनकोट– हेर्नुभा’छ ? अजय देवगन र ऐश्वर्या राय अभिनीत फिल्मले नेसनल अवार्ड पाएको थियो । बरा घोष बाबु ! हृदयाघातले चाँडै बिते । मलाई पनि कहिलेकाहीँ मेरो मृत्यु हृदयाघातले हुन्छ कि जस्तो लाग्छ ! खैर,तपाईंले रेनकोट भन्नुभयो, तर म त्यसलाई वर्षादी भन्न रुचाउँछु । नेपाली शब्द नै मीठो सुनिन्छ । कि कसो ? रिमझिम वर्षात्मा वर्षादी ओढी हिँड्नुको मजा नै बेग्लै । तपाईंले घुमचाहिँ ओढ्नु भा’छ कि नाइँ ? पहाड या देहाततिरका कतिपय किसान बर्खामा घुम ओढी खेत–खलिहानतिर जान्छन् । त्यस्तो दृश्यले मेरो मन चोरिहाल्छ । 

कहिलेकाहीँ मलाई काठमान्डुका गल्लीमा घुम ओढेर हिँड्ने इच्छा हुन्छ । तर,तपाईं ढुक्क भए हुन्छ । आजको रात पानी पर्लाजस्तो छैन ।तपाईंले रेनकोट ओढ्नुपर्ने कुनै भवितव्य आइपर्लाजस्तो छैन । के पिउन चाहनुहुन्छ ? के खाने इच्छा छ ? यो जापानी रेस्टुराँ सहरकै उत्कृष्टमध्ये पर्छ । जापानी कलाकृतिले सिँगारिएको यहाँको इन्टेरियर डिजाइनले जो–कसैलाई पनि मन्त्रमुग्ध पारिहाल्छ । म यो रेस्टुराँको रेगुलर ग्राहक त होइन, तर हिजो तपाईंले फोनमा– कहाँ भेट्ने– भनी सोधेपछि मेरो मुखबाट फ्याट्ट यही रेस्टुराँको नाम निस्क्यो । 

यहाँको ‘सातोरी ड्रिम्स’ नामक ब्ल्याक कफीको स्वाद अतुलनीय छ । एक मग खाई हेर्नुस्,तपाईंको मुख तीन घन्टासम्म मगमग बसाउँछ । त्यही मुखले कुनै युवतीसमक्ष प्रेमप्रस्ताव राखी हेर्नुस्, युवती हर्षले मुर्छा परिन भने मलाई भन्नुस् । 
०००
चाउमिन तपाईंले चपस्टिक्स्ले नै खानुहुँदो रहेछ । मलाई मनप-यो । द्ट्स गुड ! म पनि चपस्टिक्स् नै चलाउँछु । तर, बिडम्वना हेर्नुस् न ! देशका पोलिटिकल लिडरहरूले चपस्टिक्स् चलाउन नजानेर सबै कुरा बर्बाद भइरहेको छ । वेलैमा उनीहरूले चपस्टिक्स् चलाउने कला र ज्ञान पाएको भए ! तपाईं किन यसरी पक्क पर्नु भा’को ! किन अक्क–न–बक्क हुनुभा’को ! मैले वास्तवमा राजनीतिको कुरा गरेको हुँ । देशको पोलिटिकल सिनारियोजको बात मार्न खोजेको हुँ । तर, चपस्टिक्स् र पोलिटिक्स् ? तपाईंलाई सायद यसैमा आश्चर्य लाग्यो क्यारे !

लेट मी एक्स्प्लेन, माई दोस्त ! लोकतन्त्र चाउमिन हो । गणतन्त्र चाउमिन हो । धर्मनिरपेक्षता चाउमिन हो । संघीयता चाउमिन हो । अरू के कुरा गर्नु, राज्य र सरकार पनि चाउमिन नै हुन् । यस्तो चाउमिन, जसलाई आकर्षक प्लेटमा सजाइवरी पोलिटिकल लिडरहरूको टेबलमा सर्भ त गरियो, तर उनीहरूलाई चपस्टिक्स् चलाउनेबारे कुनै सीप भएन । हातैले गिजोलेर चाउमिन ध्वस्त पारे । 

राजतन्त्र पनि चाउमिन नै थियो । रोयल चाउमिन, यु सी ! चपस्टिक्स् चलाउन नजान्दा, हातैले गिजोल–गाजल पार्दा भूतपूर्व राजाको कस्तो अभूतपूर्व दुर्दशा भयो ? जगत् जान्दछ । हाम्रा ब्लडी पोलिटिकल लिडरहरूको चाहिँ के दुर्दशा हुने हो, दैव जानुन् ! चपस्टिक्स् चलाउन जान्ने कला र जाँगर मरु, बस्या छन् टेबलमा चाउमिन खान !

सात सालदेखि हालसम्म देशमा ठुल्ठूला राजनीतिक परिवर्तन भए । फलस्वरूप हामीलाई अनेक रूपरङका, स्वाद–स्वादका चाउमिन प्राप्त भयो, तर चपस्टिक्स्ले खान जान्ने सीप नसिक्दा अर्थ न बर्थ गोविन्द गाई भयो ।ढिँडो हातैले कुपुकुपु खाँदा राम्रो । चाउमिन चपस्टिक्स्ले सुलुत्त निल्दा राम्रो । हाम्रा पोलिटिकल लिडरहरूलाई चाउमिनकी देवीले चपस्टिक्स् चलाउने कला र सीप सिकाइदिऊन् । अन्यथा नलिनुस् । तपाईं चाउमिन खानुस् । म कुरा गर्दै जान्छु । 
०००
किमोनो लगाई परिकार सर्भ गर्ने यहाँका सप्पै वेट्रेस  नेपाली नै हुन् । जापानी युवतीहरू पो हुन् कि भनी नझुक्किनु होला । यी नेपाली वेटे«सहरूलाई किमोनो कति सुहाएको, होइन ? यहाँ आउँदा जब यिनीहरूलाई देख्छु, मलाई सधैँ एउटा झेन कथाको याद आउँछ । कथा अवश्य पनि सुन्नुभएको होला । नसुनेको भए, सुन्नुस् । हामीलाई कुनै हतार पनि त छैन क्यारे !

कथामा घनघोर वर्षा भइरहेको थियो । तानजान र एकिदो नाम गरेका दुई जापानी भिक्षु पानीमा निथ्रुक्क भिज्दै गुम्बातिर गइरहेका थिए । तिनीहरूसित तपाईंको जस्तो रेनकोट अथवा घुम या अम्ब्रेला केही पनि थिएन । सडक हिलाम्मे थियो ।

एक मोडमा भिक्षुहरूको भेट एउटी नवयौवनासित भयो । रेसमी किमोनोमा सजिएकी बैँसालु युवती हिलोमा पाइला चालुँ कि नचालुँ भन्ने दोमनमा थिई । उसको असहज अवस्था देखेर तानजानले विनम्रतापूर्वक भन्यो, ‘आउनुुस्, म तपाईंलाई सडक पार गराइदिन्छु ।’ युवती मुस्कुराई ।

तानजानले किमोनो गर्ललाई बोक्यो । र, हिलाम्मे सडक पार ग-यो । त्यसपछि दुई भिक्षु चुपचाप डाँडाको गुम्बातिर प्रस्थान गरे । किमानो गर्ललाई बोकी हिँडेकोमा तानजानको चरित्रप्रति एकिदोको मनमा कुरा खेल्यो । शंका उब्जियो । भिक्षुले पालना गर्नुपर्ने आदर्श र आचरणबाट तानजान च्युत भएकोमा एकिदो दुःखी भयो । उसलाई लाग्यो, तानजान नैतिक रूपमा पतन भयो । 

गुम्बा सन्ध्या प्रार्थनापछि एकिदोले भन्यो, ‘तानजान, हामी भिक्षुहरूलाई स्त्रीआसपास जान वर्जित छ । विशेषगरी, काम आशक्ति जगाउने जवान एवं आकर्षक युवतीबाट त झन् टाढै रहनु हाम्रो धर्म हो । स्त्री–स्पर्श हाम्रो शीलको बर्खिलाप छ । तिमीले किन त्यस्तो अनर्थ गरेको ? युवतीलाई किन बोकेको ?’
तत्पश्चात् : तानजानले जवाफ दियो, ‘किमोनो गर्ललाई त मैले सडक पार गरेपछि त्यहीँ छाडिदिएँ । तर एकिदो, तिमीले त युवतीलाई आफ्नो दिमागमा अझै बोकिरहेका रहेछौ !’कथा यति नै हो । 

किमोनो गर्लको मुहार ओभल आकारको थियो । हाँसको अन्डाजस्तो । निकै सेतो । मिलान कुन्देराका किताबको कभरजस्तो । नाकको टुप्पामा भने एउटा कोठी थियो । मरिच आकारको । त्यसले उसको मुहारलाई थप आकर्षक बनाएको थियो ।


तानजान र एकिदो कालान्तरमा ठूला झेन गुरु बने । झेन साहित्य र दर्शनमा उनीहरूलाई उच्च सम्मान दिइएको छ । अनि किमोनो गर्ल नि ! ऊ के बनी ? कसैलाई थाहा छैन । उसको नाम के थियो ? अहँ, कसैलाई थाहा छैन । यदि तपाईंको अनुमति छ भने, म अब स्मृतिको कुरा गर्नेछु । उक्त किमोनो गर्ललाई म एक आकर्षक युवतीको बिम्बमा उतार्दै यसो भन्ने धृष्टता गर्नेछुः मलाई लाग्छ, स्मृति भनेको तानजान भिक्षुले बोकेको मायावी स्त्री हो, जसलाई हामी झरीमा निथु्रक्क भिज्दै आफ्नो मनमस्तिष्कमा बोकी हिँड्छौँ ।

 मलाई लाग्छ, हिलाम्मे सडक पार गरेपछि भिक्षुले युवतीलाई छाडेसरी स्मृतिलाई छाड्नुहुन्न । स्मृतिलाई त्यसरी टुहुरो, अनाथ पार्नुहुन्न । स्मृतिको हामीलाई पाप लाग्छ । श्राप लाग्छ । मेरो कुरा सुन्दा तपाईंलाई कतै यस्तो त लागिरा’ छैन कि हिलाम्मे सडकमा किमोनो गर्ललाई भेट्ने भिक्षुहरू हामी नै थियौँ– तपाईं तानजान, म एकिदो ! तपाईंले युवतीलाई बाटोमै छाडिदिनुभयो । तर, म भने उसको स्मृतिलाई अझैसम्म आफ्नो दिमागमा बोकीहिँडेको छु ।यद्यपि, बुझ्नुपर्ने कुरा के हो भने, तपाईंको नाम तानजान होइन । न त मेरो नाम नै एकिदो हो । 


मेरो नाम त याद छ होला नि तपाईंलाई ! कसो ? हिजो फोनमा भनेकै थिएँ । बिर्सनुभयो ? ठीकै छ, केही छैन । म पनि प्रायः मानिसहरूको नाम बिर्सिरहन्छु । एनिवे, नोटबुकमा मेरो नाम टिप्नुस् : देव । थर ? यु मिन सरनेम ? सरनेम नटिप्दा हुन्छ । सरनेममा मलाई त्यति रुचि छैन । ह्वाट्स इन अ सरनेम आफ्टर अल ?
काठमान्डुका थिएटरकर्मीहरू मलाई ‘देव, द साउन्ड डिजाइनर’ भनी चिन्ने गर्छन् । तर, थिएटरकै ब्रिलिएन्ट एक्टर दिव्यदेवसित चाहिँ नझुक्किनु होला नि ! दिव्यदेव अभिनेता हुन् र म देवचाहिँ– भनिहालेँ– ध्वनि विन्यासकर्मी हुँ । 


तपाईंले ‘कोर्ट मार्सल’, ‘एन्टिगोनी’ र ‘थर्टी डेज इन सेप्टेम्बर’जस्ता नाटकहरू हेर्नुभा’छ कि नाईं ? ती नाटकमा ध्वनि भर्ने मनुवा म नै हुँ । पछिल्लोपटक नगरकोटीको ‘बाथ–टब’मा त्यस्तो बिजायर एन्ड अब्सर्ड खालको साउन्ड डिजाइन गर्ने को थियो ? आच्या, कस्तो बिर्सेको ? त्यो म नै त थिएँ नि !
अब ‘सातोरी ड्रिम्स’को आनन्द लिँदा कसो होला ? ब्ल्याक कफी अर्डर गरुँ ? तपाईंको चाउमिन पनि सक्कि’गो क्यारे ! रक्सी–अय्ला, छ्याङ–छोय्लाखाने बानी छ कि नाईं ? अनि खैनी, गुट्खा, तमाखु नि ! अच्छा ! केहीको पनि आदत छैन ? कस्तो अचम्म !

हुन त यो नितान्त पर्सनल कुरा हो, तर पनि मलाई एउटा कुरा सोध्न मन लाग्या’ छ । यो सहरमा तपाईंजस्ता पेसेवर श्रोताहरूको संख्या कति छ ?तपाईंहरूको पनि कुनै संघ–संगठन छन् कि त ! तपाईंका रेगुलर क्लाइन्टचाहिँ कतिजति होलान् ? सबै क्लाइन्टलाई यसरी कुरा सुनिदिएबापत प्रतिघन्टा एक हजार पाँच सयका दरले चार्ज गर्नुहुन्छ कि, कसै–कसैलाई स्पेसल डिस्काउन्ट पनि हुन्छ ?
०००
मलाई लाग्छ, झेन भिक्षुले हिलाम्मे सडक किनारामा छाडेको किमोनो गर्लको नाम थियोः कासुमी कोबायासी । मलाई किन यस्तो लाग्छ ? यसको जवाफ पाउन हामी स्विडेन हुँदै डेनमार्क जानुपर्ने हुन्छ । डेनमार्कको साइकियाट्रिक म्युजियम जानुपर्ने हुन्छ । र, म म्युजियमछेवै अवस्थित चिहानमा जानुपर्ने हुन्छ, जसको नाम नाम होः ब्रेनलेस गे्रभयार्ड ।

ब्रेनलेस गे्रभयार्ड ! हो,तपाईंले सही सुन्नुभयोः अ ब्रेनलेस गे्रभयार्ड !चिहानको यस्तो अजीव–ओ–गरिब नाम तपाईंले यसअघि कहिल्यै सुन्नुभएको थियो ? तपाईंको  कुनै मेल या फिमेल क्लाइन्टले ब्रेनलेस गे्रभयार्डबारे कुनै चर्चा गरेको थियो ? अवश्य पनि थिएन । लौ सुन्नुस् । म त्यसको कुरा गर्छु । एउटा यस्तो घटनाको उल्लेख गर्छु, जसले मेरो जीवन नै परिवर्तन गरिदियो । 

कुरा हो मे महिनाको । सन् २०१५ को । थिएटरसम्बन्धी सेमिनार र कार्यशालामा सहभागी हुन स्विडेन र डेनमार्कबाट मलाई निम्तो आएको थियो । युरोपको यात्रामा लागेँ । यो यात्रालाई तपाईं देवयात्रा भन्न सक्नुहुन्छ । यो देवयात्रामा मलगायत अरू तीनजना नाट्यकर्मी पनि थिएः प्रकाश सुवेदी, आलोक लम्साल र दिलीप रानाभाट । 

स्विडेनको ‘ल्यान्डस्क्रोना थिएटर’मा भएको कार्यशाला मेरा निम्ति निकै नै लाभदायी रह्यो । नाटकलाई हेर्ने मेरो दृष्टिकोणमा त्यसले आमूल परिवर्तन ल्याइदियो । किन्तु स्विडेनको बसाइबारे अरू कुनै वेला विस्तारमा चर्चा गरौँला । त्यहाँ एउटी ब्याले नर्तकी र उसको ब्बाइफ्रेन्डबीच म कसरी फसेँ भन्नेबारे फुर्सदमा कुरा गरौँला । हाललाई भने समुद्रयात्रा गरिहालौँ । नत्र, डेनमार्क प्रस्थान गर्ने हाम्रो जल–जहाज छुटिजाला । 

जल–जहाजले तपाईंलाई डेनमार्कको हेलसिंगरमा उतारिदिन्छ । त्यो सानो सहरमा तपाईंले विश्व सम्पदा सूचीमा पर्ने ‘क्रोनबर्ग क्यासल’ देख्नुहुनेछ । उक्त ऐतिहासिक क्यासलमा तपाईं अवश्य पनि पाउकष्ट गर्नुहोला, जसलाई हाम्रो विश्वभरका थिएटरकर्मीहरू सम्मानका साथ– ह्याम्लेटको क्यासल– भन्ने गर्छौं । 
सेक्सपियरको ‘ह्याम्लेट’ त अवश्य पनि हेर्नुभएको होला । नहेरे पनि पढ्नु त अवश्य भएको होला । सेक्सपियरले यो क्यासललाई आफ्नो कृति–हयाम्लेट–मा चित्रण गरेर अमर बनाएका हुन् ।

मोटरसाइकल ल्याउनु भा’ छ ?ठीक छ, राम्रो । अब यसो गरौँ । मोटरसाइकलमा सिटी–सर्फिङ गरौँ । भर्खरै ११ बजेर १७ मिनट गएको छ । यो रात हाम्रो आफ्नै हो । म बिल तिर्दै गर्छु, तपाईं मोटरसाइकल स्टार्ट गर्नुस् । पर्दैन, पर्दैन । म तिरिहाल्छु नि !
०००
काठमान्डुमा तपाईंजस्ता–प्रोफेसनल लिसनरहरू अस्तित्वमा छन् भनी सुन्दा मलाई पहिले त विश्वास नै लागेको थिएन । हेर्दाहेर्दै यो सहर कस्तो भयो, है ? यस्तो समय पनि आयो ! हुँदा–हुँदा आफ्नो पीडा, अनुभूति र गुनासा व्यक्त गर्न पैसा तिर्नुपर्ने ! आफ्ना आँसु–हाँसो, दुःख–वेदना, हर्ष–विस्मात् सेयर गर्नसमेत तपाईंजस्ता पेसेवर श्रोता हायर गर्नुपर्ने !

कुरा सुनिदिएबापत के तपाईं आफ्ना गर्लफ्रेन्डहरूसित पनि पैसा लिनुहुन्छ ? आमा–बुबासित पनि रकम असुल्नुहुन्छ ?अच्छा ? यो कुरोचाहिँ अच्छा लाग्यो । आमा–बुबाबाहेक सबैलाई चार्ज गर्ने ! अति उत्तम ! मोटरसाइकल अलि बिस्तारै चलाउनुुस् । तपाईंका अधिकांश कुरा हावामा उडिरहेका छन् । म स्पष्टसित सुन्न सकिरा’छैन । एकछिन्, एकछिन् । मोटरसाइकल रोक्नुस् त ! म त्यो एटिएम मेसिनबाट पैसा निकाल्छु । तपाईंलाई क्यास नै बुझाउनुपर्ने होला, होइन ? म तु गएँ, तु आएँ । पर्खँदै गर्नुहोला । धेरैबेर लाग्दैन । त्यसपछि हामी शिवपुरी जंगलको मोक्षबोध चिहानमा जाऔँला, हुन्न ?
०००
आहा ! यो सुनसान जंगली रात कति सुखद छ ! म यहाँ बारम्बार आइरहन्छु । यो चिहान मलाई साह्रै मनपर्छ । तपाईं पहिले यता आउनुभएको थियो कि नाईं ? सहरका चित्रकारलाई यहाँको शान्त वातावरणले विमुग्ध पार्छ । दिनको उज्यालोमा तपाईं  यहाँ चित्रकारहरूलाई चित्र कोरिरहेको लवलीन मुद्रामा देख्न सक्नुहुन्छ । 
आफ्ना क्लाइन्टहरूलाई पनि तपाईंले यसो कहिलेकाहीँ यही चिहानमा ल्याए हुन्छ । चिहानमा गरिएको बातचित चिरस्मरणीय हुन्छ । आउनुस्, घाँसमा बसौँ । चुरोट सल्काउँछु । धुवाँले तपाईंलाई डिस्टर्ब त गर्दैन नि !अँ त, म कहाँ थिएँ ? ह्याम्लेटको क्यासलमा ! ओके, त्यहीँबाट आगे बढौँ । त्यो क्यासलबाट हामीलाई गन्तव्यमा लैजानका निम्ति एउटा भ्यानको व्यवस्था गरिएको थियो । यात्रा निकै नै रमाइलो भयो ।

बाटोमा ड्राइभरले अचम्मलाग्दो कुरा ग-यो । उसले हामीसित भन्यो, ‘तपाईंहरू अब जहाँ जाँदै हुनुहुन्छ, त्यो ठाउँ खासमा ज्याद्रो अनौठो खालको छ ।’ मैले कस्तो अनौठो खालको भनी जिज्ञासा राख्दा उसले भन्यो, ‘तपाईंहरू बस्ने बूढो गोथिक महलमा भूत, प्रेत र आत्माहरूको बसोवास छ ।’

ड्राइभरको कुरामा हामीलाई विश्वास लाग्ने कुरै भएन । उसले ठट्टा गरेझैँ लाग्यो । तैपनि मैले हाम्रो कार्यशालाका को–अर्डिनेटर मिस्टर ज्याकलाई ‘कुरो त्यसो हो र’ भनी सोध्दा उसले ‘हो, कुरो त्यसो नै हो’ भन्यो र थप्यो, ‘त्यो महलमा मृतात्मा आउँछन्, बस्छन् तर गइहाल्छन् । तर, तिनीहरू हार्मलेस हुन्छन् । कुनै फिक्री मान्नु पर्दैैन ।’

लोकतन्त्र चाउमिन हो । गणतन्त्र चाउमिन हो । धर्मनिरपेक्षता चाउमिन हो । संघीयता चाउमिन हो । राज्य र सरकार पनि चाउमिन नै हुन् । यस्तो चाउमिन, जसलाई आकर्षक प्लेटमा सजाइवरी पोलिटिकल लिडरहरूको टेबलमा सर्भ त गरियो, तर उनीहरूलाई चपस्टिक्स् चलाउनेबारे कुनै सीप भएन । हातैले गिजोलेर चाउमिन ध्वस्त पारे ।

साँझपख करिब पाँचघन्टाको यात्रापश्चात् हामी उक्त गोथिक महलमा पुग्यौँ ।  यो महल समुद्री किनारामा अवस्थित निकाबिङ सिल्यान्ड नामक ठाउँमा थियो । कोपनहेगनबाट करिब एक सय किलोमिटरको दूरीमा रहेको यो एक ब्युटिफुल स्मल टाउन हो । हामीलाई स्वागत गर्दै गोथिक महलको बोर्डनले भन्यो, ‘यो महल एक सय वर्ष पुरानो हो । पहिलो यो मानसिक अस्पताल थियो । तीस वर्षपछि यसको मर्मतसम्भार भएपश्चात् यो महल अहिले थिएटरमा रूपान्तरण भएको छ । पहिले यो मानसिक रोगीहरूका लागि थियो । अचेल तपाईंहरूजस्ता विश्वका नाट्यकर्मीहरूका लागि छ ।’

महल विशाल पार्कको झन्डै बीचमा थियो । समुद्रको किनारामा रहेको मूल सडकमा उक्त पार्कको प्रमुखद्वार थियो । वार्डेनले हामीलाई पार्कमा एकसरो घुमाउँदै चिहानमा पु-यायो र भन्यो,‘तपाईंहरू अहिले बे्रनलेस ग्रेभयार्डमा हुनुहुन्छ ।’बे्रनलेस ग्रेभयार्ड ? यो अलिक उदेकलाग्दो नाम थियो । कार्यशालामा सहभागिता जनाउन त्यही दिन अफ्रिकी मुलुक युगान्डा र बुर्किना फासोबाट पनि नाट्यकर्मीको समूह आएको थियो । युगान्डाको नाट्य लड्काले वार्डेनसित सोध्यो, ‘बे्रनलेस ग्रेभयार्डजस्तो अनयुजुअल नाम किन राखिएको होला ?’

ठ्याक्कै त्यही नभए पनि त्यस्तै खालको प्रश्न मेरो मनमा पनि उब्जिएको थियो । चिहानको विचित्र प्रकारको नामलाई लिएर हामी सबै जिज्ञासु थियौँ । फरासिलो मिजासको वार्डेनले भन्यो, ‘किनभने यो चिहानमा गाडिएका लासहरूको ब्रेन छैन । गाड्नुअघि तिनीहरूको गिदी झिकिएको थियो ।’ वार्डेनका अनुसार, खासमा कुरो यस्तो रहेछ : एक शताब्दी बूढो मानसिक अस्पतालमा जब मनोरोगीहरूको मृत्यु हुन्थ्यो, तब तिनीहरूको खप्परबाट गिदी निकालिन्थ्यो । त्यसो त लासलाई गिदी नै पो किन चाहियो र ! ती गिदी परीक्षणका लागि ल्याबमा पठाइन्थे । गिदीविहीन लासलाई चिहानमा गाडिन्थ्यो । गाडिइने मृत मनोरोगीको गिदी निकालिएकाले चिहानलाई बे्रनलेस ग्रेभयार्ड भनिन्थ्यो । 

वार्डेनले त्यसो भनेपछि मलाई काठमान्डुका नेवारी खाजाघरहरूको याद आयो, जहाँ म नेवाः अय्लासित फ्राइड गिदी खाने गर्थेँ ।  तपाईंले कहिल्यै गिदी चाख्नुभएको छ ? खानुभएको छ ? दारुसित ? गिदी खान दारु नै किन चाहिन्छ ? राजखानी र गिदीजस्ता सितन किन पुरुषहरूले मात्र खाने गर्छन् दारुसित ? ती सितन महिलाहरूलाई किन सर्भ गरिँदैन ? मलाई लाग्छ, गिदी खाएर नै पुरुषहरूको गिदी नष्ट–भ्रष्ट भएको हो । तपार्इंलाई त्यस्तो लाग्छ कि लाग्दैन, कुन्नि !
त्यो दिन वार्डेनले गिदीविहीन लासहरूले कुरा गर्दा मलाई बडो दिगमिग लागेर आयो । काठमान्डुका अयला–गृहमा मैले अनगिन्ती प्लेट गिदी खाएको थिएँ । के ती गिदी बे्रनलेस ग्रेभयार्डमा गाडिएका तिनै लासहरूका थिए ?

चुुरोट सल्काउँछु । माइन्ड नगर्नुस्, ल ! हामी सबैलाई त्यो गोथिक महलमा एउटा–एउटा कोठा उपलब्ध गराइएको थियो । कोठा निकै सफा, कोजी एन्ड कम्फर्टेबल थियो । कोठामा दुईवटा पलङ थिए । किन्तुु सुत्ने मान्छेचाहिँ एकजना मात्र । रुम पार्टनर राख्न सख्त मनाही । किन त्यसो त ? त्यसको जवाफ डिनरका वेला पाइयो । वार्डेनले भन्यो, ‘तपाईंहरूलाई एउटा–एउटा रुम दिइएको छ । रुममा दुईवटा बेड छन् । एउटा त तपाईंका लागि भइहाल्यो, तर अर्को ? अर्कोचाहिँ कसका लागि होला भन्ने जिज्ञासा तपाईंहरूसित हुनुपर्छ । जिज्ञासा म शान्त पारिदिन्छु । अर्को बेड प्रेतात्माका लागि हो । तपाईंको रुममा पे्रतात्मा पनि सुत्नेछ । तर, तपाईंहरू डराइहाल्नुपर्ने कुनै कारण छैन । किनभने ती बे्रनलेस पे्रतात्मा हुन् । तिनीहरूको गिदी निकालिइसकिएको छ ।’

त्यो रात मैले किमोनो गर्लको सपना देखेँ । सपनाको सेटिङ थियोः ह्याम्लेटको क्यासल । किमोनो गर्लसित एउटा बास्केट थियो । बास्केटमा स्याउ थिए । ऊ स्याउ बाँडिरहेकी थिई । भिक्षुहरूको लामो लाइन थियो । त्यो लाइनको पुछारमा म थिएँ । र, म पनि भिक्षु बनेको थिएँ । मेरो केस मुण्डन गरिएको थियो । कलेजी रङको लामो गाउन लगाएको थिएँ । आफ्नो पालो कुरिरहेको थिएँ । लाइन बिस्तारै–बिस्तारै सरिरहेको थियो । 

सबै भिक्षुले स्याउ लिएर गएपछि मेरो पालो आयो । तर, किमोनो गर्लको बास्केट रित्तो भइसकेको थियो । मेरा निम्ति स्याउ बाँकी थिएन । मैले किमोनो गर्ललाई याचनापूर्वक हेरेँ । उसले पनि मलाई दुःखी मुद्रामा हेरी । उसको मुहार ओभल आकारको थियो । हाँसको अन्डाजस्तो । निकै सेतो । मिलान कुन्देराका किताबहरूको कभरजस्तो । नाकको टुप्पामा भने एउटा कोठी थियो । मरिच आकारको । त्यसले उसको मुहारलाई थप आकर्षण बनाएको थियो । मलाई स्याउ दिन नपाएकोमा ऊ खिन्न थिई । 

म रित्तो हात फर्कनै लाग्दा अचम्म भयो । उसले किमोनोभित्र हात घुसाई र छातीबाट एउटा स्याउ निकालेर मलाई दिई । अर्को हातले छातीको बाँकी स्याउ पनि निकाली । र, मलाई दिई ।मेरो हातमा किमोनो गर्लका दुई स्तन थिए । 
०००
त्यो निकै सर्रियल सपना थियो । त्यसो त सपनाहरू सर्रियल र स्वैरकाल्पनिक नै हुन्छन् । यथार्थवादी सपनाको तपाईं कल्पनासम्म गर्न सक्नुहुन्न । मलाई लाग्छ, सर्रियल र स्वैरकाल्पनिक हुनु नै सपनाहरूको यथार्थ हो । सपनाहरू मानव–मष्तिस्कका वैकल्पिक यथार्थ हुन् । खैर, त्यो सपनाले म निकै आश्चर्यचकित भएँ । 
तपाईंलाई लाग्न सक्छ, मेरो हातमा राखिएका दुई स्तनले मलाई आश्चर्यचकित पारेको हो । तपाईंले यदि त्यसो ठान्नुभएको हो भने गलत ठान्नुभएको हो । मलाई आश्चर्यचकित पारेको त युवतीले हो । किमोनो गर्ल, यु सी ?

किमोनो गर्लको सपना मैले त्यसअघि कहिल्यै देखेको थिइनँ । मजस्ता लक्का–जवाँ–मर्दहरूको सपनामा प्रायः आउने भनेको नेपाली मैयाँहरू हुन् । राष्ट्रिय युवतीहरू हुन् । धेरै भए इन्डियन अभिनेत्रीहरू हुन् । तर, जापानी युवती ? त्यो पनि किमोनो लगाएकी ! त्यो मेरा निम्ति कल्पनातीत थियो । स्वप्नातीत थियो ।पक्कै पनि किमोनो गर्ल मेरो अवचेतन मनमा हुनुपथ्र्यो । अवचेतन मनचाहिँ थियो कहाँ ? सुटकेसमा ? हो, बिहानीपख मैले सुटकेस खोलेँ । र, सुटकेसबाट अवचेतन मन निकालेँ । कन्फ्युज नुहुनुस् । किताब निकालेँ भन्न खोजेको हुँ ।

किताबको नाम थियोः झेनफ्लेस, झेनबोन्स । त्यो किताब मैले स्विडेनको बसाइमा एउटा सेकेन्ड ह्यान्ड बुक–सपबाट किनेको थिएँ । त्यसमा एक सयवटा झेन कथा थिए । तिनै कथामध्ये एउटा कथा थियो जापानी भिक्षुद्वय तानजान र एकिदोको, जसको शीर्षक थियो : मड्डी रोड अर्थात् हिलाम्मे सडक । त्यसबारे मैले अघिको रेस्टुराँमा तपाईंसित चर्चा गरिसकेको छु । उक्त कथा मैले स्विडेनबाट डेनमार्क जाँदा जलजहाजमा पढेको थिएँ । के तानजानले सडक किनारामा छाडिदिएकी युवती त्यही थिई, जो मेरो सपनामा भिक्षुहरूलाई स्याउ बाँडिरहेकी थिई ! मेरो हातमा स्तन थमाइदिएकी थिई ! मलाई लाग्छ, ऊ त्यही थिई । त्यही किमोनो गर्ल मेरो अवचेतन मनमा बसेकी थिई । अर्को चुरोट सल्काउँछु ल !
०००
त्यो गोथिक महलमा हाम्रो बसाइ सात दिनको थियो । र, सातै दिन मैले किमोनो गर्लको सपना देखेँ । प्रत्येक रात ऊ सपनामा आई । समथिङ लाइक रिकरिङ ड्रिम्स । सपनामा हाम्रो भेटघाट भने विभिन्न ठाउँमा हुने गथ्र्यो । तर, प्रत्येक सपनाको प्रसंग भने सदा एकनासको हुन्थ्यो । किमोनो गर्ल मलाई स्याउ दिन्थी । अर्थात् स्तन–दाना । दुईवटा ।

कहिले म उसलाई डुंगामा नदी पार गराइदिन्थेँ । बदलामा ऊ किमोनोभित्र हात घुसार्थी । अनि स्तन–दाना निकालेर मेरो हातमा थमाइदिन्थी । कहिले म कुनै क्याफेमा बसेको हुन्थेँ । मेरो खेलमा ऊ आइपुग्थी र रित्तो ट्रे पसारिदिन्थी । त्यसपछि पालैपालो स्तन–दाना निकालेर ट्रेमा राखिदिन्थी । उसले मलाई अनेक ठाउँमा अनेकपटक स्तन–दाना दिइरही । 

एकपटक ऊ स्लटर हाउसमा देखापरी । तारमा जोल्ठिएर झुन्डिएका काँचो मासुका फिल्लै–फिल्लाहरूमाझ ऊ सर्वांग नग्न उभिएकी थिई । उसको नांगो छातीमा दुईवटा खोपिल्टा थिए । खोपिल्टामा स्याउ थिए । उसले खोपिल्टाबाट स्याउ निकाली र दुवैै हात फैलाएर मलाई आफूतिर आउन संकेत गरी । म अघि बढेँ । ऊ भने पछि सर्दै गई । सर्दै गई । सर्दै गई । यस्तैमा, भेन्टिलेसनबाट मुस्लो–का–मुस्लो कुहिरोभित्र छि-यो । ऊ कुहिरोमा छेलिई । म कुहिरोमा बिलाएँ । काँचा फिल्लाहरू कुहिरोमा ओझेल भए । साराका सारा स्लटर हाउस कुहिरोको साम्राज्यमा डुबिगयो । किमोनो गर्लको सपनाले मलाई विक्षिप्त पारिदियो ।  एकदिन बुर्किना फासोकी नवमित्र अदिजा अलबौदोेसित मैले आफ्नो सपनाबारे चर्चा गरेँ । दैनिक कार्यशालाको लन्च ब्रेकको समय थियो । हामी बे्रनलेस ग्रेभयार्डमा थियौँ । चिहानको चारैतिर हरिया रूख थिए । बीचमा विस्तीर्ण हरियो चौर । 

चौरमा विभिन्न नाम र मिति कोरिएका सिमेन्टका ब्लक र ढुंगा थिए । तिनमा लेऊ लागेको थियो । ढुंगामा कुँदिएका मृतकका नाम मेटिइसकिएका थिएनन् । 
अदिजा अलबौदोेलाई पनि मेरो सपनाले विक्षिप्त पारिदिएको भान हुन्थ्यो । बहुमुखी स्वभावकी प्रायः हँसीमजाक गर्ने ऊ निःशब्द थिई । धेरैपछि ऊ बोली, ‘तपाईंको सपनाको कनेक्सन पक्कै पनि यो ग्रेभयार्डसित हुनुपर्छ । तर, कस्तो कनेक्सन ? गड नोज !’ यति भनेर ऊ पिसाब फेर्न गइहाली । 

अदिजा अलबौदोेले भनेको –कनेक्सन– बारे म घोत्लिएँ । कनेक्सनको कुनै क्लू नपाएर के सुर चल्यो कुन्नि, म ढुंगामा कुँदिएका नामहरू पढ्न थालेँ । ती नामका स्वामीहरूबारे सोचेँ, जो चिहानमुनि चिरनिद्रामा सुतेका छन्, जसका गिदी निकालिएका छन् । नामहरू प्रायः युरोपियन थिए । भिक्टर गुस्ताभ पिटरसन (१८८५–१९५७) । अन्ना पिटरसन (१८८२–१९५८) आदि । भिक्टर र अन्नादम्पती थिए, सायद ।करिब डेढ सय नामहरू पढिसकेपछि हुनुपर्छ, एउटा ढुंगामा मैले ज्यादै अमिल्दो नाम देखेँ । एकदमै अन–युरोपियन । त्यो नाम थियोः कासुमी कोबायासी । जन्मः १८९५ । मृत्युः १९४७ । 

म हतार–हतार कोठामा गएँ । क्यामेरा बोकेँ । र, पुनः चिहानतिरै लम्किएँ । करिडोरमा भेटिएकी अदिजा अलबौदो पनि मेरै पछिपछि आई । मैले ढुंगामा कुँदिएको नाम– कासुमी कोबायासी– को दुई–चारवटा फोटो खिचेँ ।त्यसपछि हामीले बाँकी नामहरू पनि पढ्दै गयौँ । त्यत्रो चिहानमा एउटै मात्र अमिल्दो नाम थियो– कासुमी कोबायासी । त्यत्तिका युरोपियन डेड–बडीहरूमाझ एउटी जापानी महिलाको लास कसरी त्यहाँ गाडिन पुगेको थियो ? यसको जवाफ हामीसँग थिएन । अदिजा अलबौदोे निःशब्द थिई । र, म स्तब्ध !
०००
एकछिन यो बिर्को समाउनुस् त ! थ्याङ्क यु !आँखामा आँसु छैन । सधैँ ओभानो भइरहन्छ । आइड्रप हालिरहनुपर्छ । मभित्र आँसुका सबै मुहान सुकिइसकेका छन् । कहिलकाहीँ रुन खोज्छु, आँसु नै आउँदैन । जब मसित प्रशस्त आँसु थिए, तिनलाई अनेक भावुकता तथा संवेदनाहरूमा खर्च गरेँ । जब मलाई आँसुको साँच्चीकै खाँचो प-यो, तब म लाचार, विवश एवं दीनहीन भएँ । 

जवान भाइले सुसाइड ग-यो । उसको मृत मुहार हेर्दा आँसु निस्केन । सानी छोरीको किडन्याप भयो । लगनखेलमा अपरहणकारीबाट छुटाएर छोरीलाई घप्लक्क अँगालोमा बेर्दा एक थोपा आँसु झरेन । जीवनमा आँसु नहुनुजस्तो दुःख अरू के होला?आँसुले तपाईंलाई मानवीय बनाउँछ । मसित आँसु सक्किइसकेको छ । म दानवीय भएको छु, सायद । आँसु आँखाको अमूल्य सम्पदा हो । म सम्पदाविहीन भएको छु । खै, बिर्को ल्याउनुस् ! थ्याङ्क यू !

मेरो कथा बाँकी नै छ । सुनाउँछु । तर, पहिले चुरोट सल्काउँछु । ल ! गोथिक महलको अन्तिम साँझ आयोजकले हाम्रो बिदाइका निम्ति बियर पार्टीको आयोजना गरेको थियो । फेयरवेल सेलिब्रेसनमा सबै आनन्दित थिए । युगान्डाका साथीहरूले आदिवासी नृत्य प्रस्तुत गरे । बुर्किना फासोका साथीहरूले लोकगीत सुनाए । 
क्यान बियर समाती हलको एक कुनामा बसेको म मौन दर्शक बनेँ । उत्सवमा म सामेल भइनँ । र, उनीहरूले मलाई कर पनि गरेनन् । वास्तवमा मेरो देह निःसन्देह त्यहीँ भए पनि मन भने अन्तै कतै थियोः किमोनो गर्ल । स्याउ । स्तन–दाना । सपना । र, कासुमी कोबायासी ।

मलाई कुनामा एक्लै झोक्राइबसेको देखेर अदिजा अलबौदो मसामुु आई र एउटा कुर्सी तानेर बसी । मलाई सुनाउनका निम्ति ऊसित एक अद्भुत एवं परालौकिक खबर रहेछ । लन्च ब्रेकमा ऊ साइकियाट्रिक म्युजियम गएकी रहिछे । नजिकैको त्यो म्युजियममा छिर्ने मेरो कहिल्यै शुद्धि भएन । अर्को दिन आइतबारको छुट्टी । म्युजियम बन्द हुने दिन । जाने कुरा भएन । फेरि अर्को दिन बिहानै कोपनहेगनको एयरपोर्ट प्रस्थान गर्नुपर्ने ।

तपाईंलाई निद्रा त लागेकै छैन नि ! लागे पनि केहीबेर विथहेल्डमा राख्नुस् । निद्रालाई पोस्टपोन गर्नुस्, प्लिज । किनभने, हामी क्लाइमेक्सको आसपास छौँ ।
शिवपुरी जंगलको यो मोक्षबोध चिहानमा आजको जुनेली रात कति आनन्दमयी ! कति शीतल ! कति जीवन्त ! साँच्ची, यो चिहानको नाम मोक्षबोध राख्ने को होला ? कहाँ होला ? यही चिहानमुनि होला ?

मैले कहिल्यै कल्पनासमेत गरेको थिइनँ कि कुनै रात यो चिहानमा म एउटा पेसेवर श्रोतालाई आफ्नो जीवनका रहस्य सुनाउनेछु । जे होस्, त्यो रात बुर्किना फासोकी अदिजा अलबौदोले मलाई भनी, ‘देव ! मलाई लाग्छ, सपनामा तिमीलाई स्याउको स्तन–दाना दिने किमोनो गर्ल पक्कै पनि कासुमी कोबायासी हुनुपर्छ ।’
म झस्केँ । बे्रनलेस ग्रेभयार्डको ढुंगामा कुँदिएको जापानी नामः कासुमी कोबायासी ! मेरो सपनामा आउने किमोनो गर्लः कासुमी कोबायासी ! मलाई स्याउका स्तन–दाना दिनेः कासुमी कोबायासी !

अदिजा अलबौदोले भनी, ‘त्यो नाम मैले साइकियाट्रिक म्युजियममा मृतमनोरोगीहरूको नामावलीमा फेला पारेँ, जसलाई बे्रनलेस ग्रेभयार्डमा गाडिएको थियो । कासुमी कोबायासी मनोरोगी थिई, जो उपचारको क्रममा यही गोथिक महलमा मरेकी थिई ।’अदिजा अलबौदो एकछिन चुप लागी । बियरको एक सिप लिई र भनी, ‘कासुमी कोबायासीलाई स्तन क्यान्सर भएको रहेछ । उसका दुवैै स्तन काटेर मिल्काइएका रहेछन् ।’

अदिजा अलबौदोले त्यसपछि बोलेका अरू कुनै कुरा मैले सुन्न सकिनँ । अकस्मात् रहस्यको अनन्त गहिरो इनारमा खसेझैँ लाग्यो । मन सम्भोगपश्चात्को तन्नाझैँ खजमजियो । दिमागमा कसैले मार्तोल प्रहार गरेझैँ लाग्यो । मेरो खप्परबाट गिदी निकालेर बुर्किना फासोकी नाट्य लेडीले प्याथोलोजी ल्याबमा पठाइदिएझैँ लाग्यो । मलाई एक्कासि चुरोटको तल–तल लाग्यो । अहिले पनि लागिरा’छ । के म चुरोट सल्काऊँ ? अदिजा अलबौदोलाई हलमै छाडी म बे्रनलेस ग्रेभयार्डतिर गएँ । कासुमी कोबायासीको समाधिमा गई बसेँ । ढुंगामा कुँदिएको उसको नामलाई हातले बिस्तारै स्पर्श गरेँ । मायाले सुम्सुम्याएँ । ऊ कहाँकी ! म कहाँको ! एक–अर्कादेखि अन्जान हामीलाई सपनामार्फत अस्तित्वले कनेक्ट गराइदिएको थियो । एक अन्जान देशको गोथिक महलमा । एक अन्जान चिहानमा ।

 रात छिप्पिँदै थियो । अदिजा अलबौदोका शब्द कानमा अझै गुन्जिरहेका थिए, ‘कासुमी कोबायासीलाई स्तन क्यान्सर भएको थियो । उसका दुवै स्तन काटेर मिल्काइएका थिए ।’मैले सपनाको सेतो ओभल मुहार सम्झेँ । नाकको मरिच–कोठी सम्झेँ । स्याउ सम्झेँ । भिक्षुहरूको लस्कर सम्झेँ । स्तन–दानाहरू सम्झेँ । 
आँखा चिम्लेँ । र, अवचेतन मनभित्र चिहाएर हेरेँ । 

मेरो अवचेतन मनभित्र स्लटर हाउस थियो । तारमा जोल्ठिएर झुन्डिएका काँचो मासुका फिल्लै–फिल्लाहरूमाझ किमोनो गर्ल थिई । उदास एवं उजाड । सर्वांग नग्न । र, उसको नांगो छातीमा दुई खोपिल्टा थिए । उसको हातमा स्याउका स्तन–दाना थिए । उसले दुवै हात फैलाएर मलाई आफूतिर बोलाई । म अघि बढेँ । ऊ पछि सर्दै गई । सर्दै गई । सर्दै गई । यस्तैमा कुहिरोले हामी दुवैलाई निल्यो । अवचेतन मनको स्लटर–हाउस कुहिरोमा विलीन भयो । 

०००
कहिलेकाहीँ मलाई लाग्छ, जब म चुरोट पिउँछु मेरो मुखबाट धुवाँ होइन, कुहिरो निस्किन्छ । मुस्लो–का– मुस्लो कुहिरो ! यस्तो वेला मलाई मेरो मुख, मुखजस्तो नै लाग्दैन । बरु त्यही स्लटर हाउसको भेन्टिलेसनजस्तो लाग्छ, जहाँबाट छिरेका कुहिरोले म र किमोनो गर्ललाई निलेको थियो । त्यो घटना घटेको पनि अब त वर्षौँ भयो । आजकाल मलाई लाग्छ, सपना रहस्यमय हुँदैनन् । ती रहस्यमयजस्ता जरुर देखिन्छन्, तर वस्तुतः ती रहस्यमय कदापि हुँदैनन् । ती रहस्यमयजस्ता किन मात्र प्रतीत हुन्छन् भने तिनको कनेक्सन हामी विपनामा भेट्न असमर्थ हुन्छौँ । 

जुन क्षण सपनाको कनेक्सन विपनासित हुन्छ, त्यही क्षण सारा रहस्य नष्ट हुन्छन् । जसरी म नष्ट भएको थिएँ, त्यो रात । किमोनो गर्लको समाधिमा । गोथिक महलको बे्रनलेस ग्रेभयार्डमा । अचेल म स्याउ खादिनँ । कसैले खाएको पनि हेर्न सक्दिनँ । स्याउले मलाई किमोनो गर्लको प्वाल परेको छातीको याद दिलाउँछ । उसका काटिएर मिल्काइएका स्तन–दानाहरूको याद दिलाउँछ । 

हे पेसेवर श्रोता ! यतिन्जेल तपाईंले मलाई ध्यानपूर्वक सुनिदिनुभयो । बीच–बीचमा अनावश्यक क्रस–क्वेस्चन गरेर डिस्टर्ब गर्नुभएन । तपाईंको सेवादेखि म प्रसन्न भएको छु । तपाईंलाई धन्यवाद छ । अघि एटिएम मेसिनबाट निकालेको पैसा मेरो खल्तीमा छ । झिकेर जम्मै लानुस् । अब, कृपया यहाँबाट गइदिनुस् । मलाई जुनेली रातको यही जंगली चिहानमा छाडिदिनुस् । मेरो नाम र टेलिफोन नम्बर तपाईंसित छँदैछ । कहिलेकाहीँ यसो फोन गर्नुहोला । कहिले म नै तपाईंलाई फोन गरुँला । भेट्न आउनुहोला । बाँचे अरू कथा सुनाउँला । नबाँचे मेरो व्यथा अस्तित्वले सुनाउला ।

नयाँपत्रिका दैनिक – २०७६ श्रावण ४ शनिबार – कुमार नगरकोटी

https://jhannaya.nayapatrikadaily.com/news-details/371/2019-07-20