भरिपूर्ण अभाव

धेरै भो समयलाई नसम्झेको, न्यास्रो पो लाग्न थाल्यो । किन किन बेला बेलामा यो समयको यादले यसरी सताउछ कि मानौ यो मेरो पछि पछि म सँगै आइरहेको छ । यसले मेरो सम्पुर्ण कुराहरुलाई यसरी नियाल्दै हिडिरहेको छ कि मलाई थाहा नभएको कुरा पनि यसलाई एक-एक थाहा छ । तर जब म मेरो बारेमा यसलाई सोध्छु नि अनि यसले मलाई कुनैपनि उत्तर नै दिदैन ।
मेरो जिवनमा मैले धेरै पटक भगवान सँग प्रार्थना गरेर धेरै कुरा मागेको छु । थोरै प्राप्त भए धेरै भएनन् । यसको हिसाब म सँग छैन । तर दुई पटक मैले अरु कसैको लागि केहि मागेको कुरा मलाई याद छ र त्यो पुरा पनि भएको छ ।  मैले दुई नै पटक भगवान सँग भनेको थिए – भगवान मैले जसको लागि यो कुरा माग्दैछु त्यो मान्छेलाई म कहिले पनि यो कुरा भन्दिन कि मैले तिम्रोलाई प्रार्थना गरेको छु भनेर ।
मैले धेरै सोचे, किन यस्तो हुन्छ ? मेरो लागि मैले मागेको कुरा भन्दा अरुको लागि मैले मागेको कुरा कसरी प्राप्त हुन्छ ? अनि मैले समयलाई सोध्न थाले । धेरै बेरको सोधाई पछी समयले मलाई स्पष्ट पारिदियो । अरुको लागि मैले भगवान सँग केहि मग्दा सच्चा मन र पर्याप्त समय दिएको थिए । तर आफ्नो लागि माग्दा सधै हतार हुन्थ्यो रे । अशान्त मन अनि अपूर्ण समय लिएर मागेको कुरा कसरी प्राप्त हुन्थ्यो ।
आज मलाई भगवान सँग धेरैकुरा माग्न मन छ । म सँग समय छ सच्चा मन छैन । भन्नुको अर्थ मन चञ्चल छ एकाग्र छैन । म मेरो मनलाई एकाग्र गर्ने प्रयास गर्दैछु ।
– जय होस् ।