सपना

मलाई सम्झना छैन त्यस अघि म के सपना देख्थें तर जब तिमीले म माथि देखेको सपनाबारे बतायौ तत् क्षण मैले आफ्नो सपनालाई त्यसैमा एकाकार गरें । त्यसपछिको मेरो हरेक कार्य र सोचको उद्देश्य सोही सपनासम्मको यात्रा तय गर्नु हो । मैले तिमीले नै दिएको सपना देखेर आफुलाई त्यही बनाउन चाहें, तिमीले मलाई जे बनेको हेर्न चाहन्थ्यौ ।
तर मेरा प्रयास पर्याप्त भएनन् होला र सायद यस बीचमा तिमी थाक्यौ पनि होला… सायद तिमीलाई लाग्यो होला मेरा सपना तिम्रो चाहना भन्दा अलग छ त्यसैले मलाई आफू खुशी चल्न छोडिदिने निर्णय गर्यौ होला… सायद मैले गर्नुपर्ने जति मेहनत गरिंन होला, म हुनुपर्ने जति क्षमतावान भईंनहोला… म ढिला भएँ होला, हो म ढिलै हिंड्ने मानिस हुँ तर म धेरै विश्राम खोज्दिन । म ढिला भएपनि हिंडिरहन्छु र थाकि पनि हाल्दिन ।

म धेरै कुरा भन्दिन, मलाई आफूलाई यसरी पोख्न असाध्यै गाह्रो लाग्छ तर जरुरी लागेको छ यसबेला त्यसैले यति चाहिं भन्छु तिमीले ममाथि जुन सपना देखेको थियौ (आशा छ बिर्सेका छैनौ ) त्यही नै मेरो सपना हो । मलाई त्यहाँ पुग्न मद्यत गर न, हुन्छ ?