तरंगले तिमीलाई केही सुनाइरहेका छन ।

आउ मेरो नजिकमा आएर बस् । म तिमीलाई मेरो मनको कुरा बताउछु ।
किन तिमी सँग मेरो बारेमा सुन्ने धैर्यता छैन ? कि तिमी मेरो बारेमा सुन्न चाहान्नौ ?
ठीक छ, तिमी नसुन । म तिमीलाई जबर्जस्ती सुनाउन पनि चाहन्न ।
 
मनको ब्यथा र ब्यथामा अल्झिएको कथा तिमीलाई सुनएर मलाई केहि पनि फाइदा हुँदैन । संसारलाई मैले जसरी बुझे तिमीले पनि त्यसरीनै बुझ्नुपर्छ भन्ने छैन । म जसरी बाँच्छु, तिमी त्यसरी नै बाँच्नु पर्छ भन्ने छैन । तिमी र म मा धेरै अन्तर छ ।
 
आफ्नो मन भित्र नियालेर हेर, तिमीले म र तिमीमा धेरै फरक पाउनेछौ । यति सम्म कि जुन तिमीले आजसम्म कल्पनासम्म गरेका छैनौ । तिमीलाई लाग्छ तिमीले तिम्रो मनका सबैकुरा बुझेकाछौ । म पनि यस्तै भन्थे तर हैन रहेछ । तिमीले बुझेको तिम्रो आवरण मात्र हो । जसलाई तिमी आन्तरिक बुझाई सम्झिरहेका छौ । कत्ती धेरै भिन्नता, कत्रो ठूलो असमानता अनी कति सस्तो भावना ।
 
हामी कहिल्यै कपास बन्न सकेनौं । कहिल्यै हामी बेल पनि बन्न सकेनौं । खोक्रो र रित्तो शारीर लिएर भरिपूर्ण जूनी बाँचिरहेका छौ । तिमी मलाई भन – आँखाले देखेको चीज सत्य हुन्छ या तिम्रो कानले सुनेको चीज ? तिमी पक्कै पनि आँखाले देखेको चिजलाई नै सत्य मान्छौ किनकी आँखा अगाडिको दृश्य तिम्रो हो । तर सुनिएको आवाज तिम्रो हैन ।
 
तर के तिमी तिम्रो आँखा संग बिश्वस्त हुन सक्छौ कि तिमीले देखेको चीज सत्य हो भनेर ? आँखालाइ जे सजिलो लाग्छ, जे राम्रो लाग्छ उसले तिमीलाई त्यही मात्र देखाउछ । र कानले कहिल्यै पनि राम्रो मात्र वा नराम्रो मात्र सुनाउदैन ।
 
तिम्रो अगाडी भएको दृश्यलाई हटाउन तिम्रा आँखा बन्द गर्न सक्छौ तर कान ? कानलाई बन्द गर्न सक्दैनौ । गुञ्जिएका ध्वनी तरंगहरु जँहा ठोकिएर भएपनि तिम्रो कान मार्फत मस्तिष्कमा पुगेरै छोड्छ । कानमा औला हालेर सुन त तिमीले के सुन्छौ ?
 
आँखा खोल तिमीले तिम्रो बर्तमान पाउछौ ।
कान खोल तिमीले तिम्रो भविष्य सुन्छौ ।
 
तिमीलाई मैले कसले के भनिरहेको छ त्यो सुन भनिरहेको छैन । के गुञ्जिरहेको छ त्यो सुन ।
आँखालाइ सदाको लागि बन्द गर भनिरहेको छैन । देखिएको चीजको आन्तरिक तरंगलाइ सुन मात्र भनिरहेको छु । त्यही तरंगले तिमीलाई केही सुनाइरहेका छन ।