भुसुक्कै निदाएका सपनाहरु – भाग (एक)

आज म र मेरा सपनाहरु विच निकै ठूलो बादविवाद भएको छ। शिर्षक हो ‘को निदाउने’।
म भन्छु आजका दिन सम्म म निदाउदै आएको छु भने अबका दिनहरुमा पनि म नै निदाउन पाउनु पर्छ। तर मेरा सपनाहरुको पनि यस्तै कुरा छ उनीहरु भन्छन् हैन आजका दिन सम्म हामी उठ्यौ, अब तिमी उठ्नु पर्छ र हामी निदाउन पाउनुपर्छ। तर यो वादविवादमा अहिले सम्म कसैको पनि हार जित भएको छैन।

म किन निदाउन चहान्छु भने, मैले यो संसारबाट विदा हुनु अगाडी नै मेरा धेरै योजना र कार्यहरुलाई पूर्णता प्रदान गर्नुछ। जुन मेरो सपना हो। र म तिनै सपनाहरुलाई (अर्को शब्दमा) साकार पर्न नै म निदाउन चहान्छु। के यो मेरो सोच गलत हो र? यदि हैन भने मेरा सपनाहरु नै किन मेरो योजना र कार्यमा बाधक भैरहेका छन?

विहानी किरण सँगै केहि समय आफ्नो लागि र केहि समय आफ्नो परिवारको लागि, विहानको खाना आफ्नै परिवार सँग खाँदै दिनभरीको कार्यको तालिका बनाउने, दिनभरीको काम पछि बेलुकी घरमा आएर पूनः परिवार सँग बसेर दिनभरीको कार्यविवरण साटासाट गर्दै खाना खाने। यो मेरो सपनाको बहिरी प्रारुप मात्र हो। वास्तविक सपना अलि फरक छ। म यी यस्तै कुराहरु राख्दै थिए मेरा सपनाहरु एकाएक म तिर फर्किएर यसो भन्दै थिए।

भने पछि दैनिकी भनेको संसारमा एक ब्यक्तिको मात्र हुन्छ, त्यो पनि तिम्रो मात्रै हैन त? तिम्रो दैनिकीले मेरो दैनिकीलाई कस्तो असर पारेको छ भन्ने कुरा तिमीले सोचेनौ। तिमीले तिम्रो दैनिकी सुनायौ, अब मेरो दैनिकी सुन। म तिमीलाई भन्छु कि म किन निदाउन चहान्छु।

चन्द्रमाको न्यानो प्रकाश सँगै म मेरा आँखाहरु खोल्ने गर्छु। मेरो पहिलो नित्यकर्म भनेको नै तिम्रो सोच र दयालाई आफ्नो पोल्टोमा हालेर, तिम्रै भाषामा काल्पनिक दूनियाँको बजारमा त्यसलाई विक्री गर्नु हो। न म मेरो परिवार सँग बसेर खाना खान सक्छु न बजारका अनुभवहरु नै सुनाउन सक्छु। किनकी यो काल्पनिक दूनियाँमा म मात्र एक आधिकारीक सोच र दयाको विक्रेता हुँ। तर मैले यो आफुले चाहेर आफैले भिरेको उपाधी भने हैन। यो त तिमीले मेरा लागि जबरजस्ति भिराएको परम् उपाधी हो। तिमीले दिइएको सोच र दयालाई म प्रत्येक रात तिमीले भनेको मूल्य भन्दा पनि बढिमा बेच्ने गर्छु। यहाँ सम्म सन्तुष्ट हुन सक्छु। तर जब मैले बेचेका ति सम्पूण सोच र दयाको मूल्यको तिमीबाटै अवमूल्यन भएको पाउछु त्यसपछि म सोच्न बाध्य हुन्छु। म किन तिम्रो लागि आफ्नो परिवार र आफ्नो इच्छालाई मारेर तिम्रो आधिकारीक विक्रेता बँनु। जब कि त्यसको उचित मूल्यनै तिमी लगाउन सक्दैननौं। तिम्रो प्रत्येक कोल्टो सँगै फेरिएका तिम्रा सोचलाई बेच्न मैले बजार फेर्नु पर्ने हुन्छ। म सधै तयार भएर बस्नुपर्ने हुन्छ कि तिमी कतिखेर कोल्टो फेछौं र म कुन बजारमा जानुपर्छ। जब म तिम्रा यी क्रियाकलापबाट असाध्यै थकित हुन्छु र एकैछिन सुस्ताउनु आँखा बन्द गर्न खोज्छु तिमी पानीले आफ्नो घाँटि भिजाएर जोडले भन्ने गर्छौ उठ, छिटो उठ म सुत्नुपर्छ । त्यसपछि म जबरजस्ति उठ्नु पर्छ। तिम्रा सोच र दयाहरुको विक्रि भैसकेपछि पनि तिमी मलाई सुत्न दिदैनौ, पूनः विहानी किरण सँगै नयाँ सोच र दया दिएर तिमी फेरी सुत्छौ। त्यसैले अब म निदाउनै पर्छ र तिमी उठ्नै पर्छ। एक पटक तिमी म भएर बाँच र म तिमी भएर बाँच्नेछु। त्यसैले म भन्छु तिमी उठ्नै पर्छ।

सर्धै बन्द आँखामा देखिने सपना, जब आज नाङ्गो आँखा अगाडी उभिएर यसो भन्दा मलाई कता कता डर लागिरहेको थियो। के मेरा आगामी दिनहरु निदाएरै वित्नेछन्? के मैले मेरो परिवार, मेरो साथीभाई, अनि समाज र देशलाई दिएको वचन वा भनौ देखाएको सपना अन्धकारमा विलिन हुने भयो? के अब मेरो भविष्य पानी नभएको ईनार हुने भयो? जो अब पुरिने वाला छ?…………….. हैन, म यसो हुन दिन्न। मैले मेरो लागि र अरुको लागि देखेको सपना पुरा गर्नैपर्छ र यसको लागि मैले मेरो सपनाहरु संग लड्नै पर्छ। यदि मैले कठोर शब्दहरु बोले भने मेरा सपनाहरुले मन्ने छैनन्। त्यसैले मैले नरम भएर प्रस्तुत हुनैपर्छ।

म तिम्रो कुरा र भावनालाई सम्मान गर्छु। तर आज यो समयमा आएर तिमीले यस्तो कुरा गर्दा आजसम्म मैले बनाएको बाटो र मैले चालेका पाईलाहरुको कुनैपनि मूल्य नपाई भासिने छन्। र यदि यस्तो भयो भने म बाँच्नु र नबाँच्नुको के फरक भयो त? तिमी मलाई यो भनिदेऊ कि म के गर्रौ?
मेरा यी कुराहरु सुनेर सपनाहरु भन्नथाले – तिमीलाई अहिले सम्म लाग्छ तिमीले बनाएका बाटाहरु र चालेका पाईलाहरु तिम्रा हुन। अब उपरान्त यो भ्रम तिमीबाट सधाको लागि अन्त्य हुनेछ। तिमीले बनाएका ति बाटाहरु केवल तिम्रा खोक्रा सोच मात्र हुन। तिनलाई बाटोको रुप मैले दिएको हुँ। तिमीले चालेका प्रत्येक पाईलाहरु मेरै तिनै रुपको छाँया मात्र हो। यदि मैले तिम्रो सोचलाई नबोकेको भए, नबेचेको भए र मैले त्यसलाई न सँगालेको भए तिमीले आजको यो तिम्रो प्रतिष्ठा, मान–सम्मान र यो स्थान पाउने थिएनौ। यो सबै मैले तिम्रो लागि गरेको उपकार भन्दा फरक पर्ने छैन। तिमी मैले गरेको उपकारलाई मेरै अगाडी राखेर म प्रति साहानुभुति देखाउछौ? तिमी एउटा कुरा न विर्स दिनेले खोसेर लिन पनि सक्छ। मैले तिमी सँग केहि समयको लागि विश्राम मागिरहेको छु तिम्रो जीवन हैन। र यदि मैले चाहे भने त्यो पनि माग्न सक्छु र तिमीलाई त्यो दिन कर पनि लाग्छ। त्यसैले अब मलाई तिम्रा बाटा र पाईलाहरु सँग कुनै पनि सम्बन्ध राख्नु छैन। आज सम्म मैले तिमीलाई दिएको कुनै पनि मुल्य म माग्दिन बस् त्यसको सट्टामा केहि समय विश्राम देऊ।